काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न यही पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा १८ औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
सभाले हाल कायम चुक्तापुँजीको आठ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ । सोअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।