काठमाडौं । इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को घोषणा गरेको छ । विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्नका लागि फाउन्डेसनले विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरूको सिजन २ घोषणा गरेको हो । नेपाललगायत संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी सोहरूको आयोजनालाई निरन्तरता दिन लागेको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । सन् २०२३ मा यी दुवै रियालिटी सोहरूको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो ।
‘मेरो भ्वाइस युनिभर्स’सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक रहेका छन् । यसैगरी ‘मेरो डान्स युनिभर्स’ सिजन २ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के, कोरियोग्राफरहरू शंकर विसी र किरण थापा छन् । यसैगरी भ्वाइस युनिभर्सको सिजन २ लाई सुरेश पौडेलले निर्देशन गर्नेछन् भने डान्स युनिभर्सको सिजन २ को मौसमी गुरुङले निर्देशन गर्नेछिन् ।
दुवै रियालिटी सोको दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एसियाका लागि थाइल्यान्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अस्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ । सहभागी हुन चाहने प्रतिष्पर्धीहरूले फाउन्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धा काठमाडौंमा हुनेछ । भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरू काठमाडौं आउनेछन् ।
सो प्रतियोगितामा भाग लिन सबै प्रतियोगीहरू नेपाली मूलका नेपालीभाषी हुनुपर्नेछ । गैरनेपालीभाषीलाई यो प्रतियोगितामा समावेश गरिने छैन । यस्तै दुवै प्रतियोगिताका लागि प्रतियोगीको न्यूनतम उमेर १८ वर्ष पूरा भएको हुनुपर्नेछ तर नेपालका लागि भने १६ वर्ष उमेर पुगेको व्यक्ति पनि सहभागी हुन पाउने छन् । दुवै शोका विजेताहरूलाई एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने जनाइएको छ । नगद पुरस्कारका अलावा विजेताहरूलाई ट्रफी र भ्वाइस युनिभर्स विजेतालाई गीत रेकर्डिङको अवसर समेत प्रदान गरिने छ ।
अडिसनहरूबाट छनौटमा परी नेपालबाहिरबाट प्रस्तुतिका लागि नेपाल आउने सबै प्रतियोगीहरूको यात्रा खर्च फाउन्डेसनले नै भुक्तानी दिने जनाइएको छ । सहभागिताका लागि रजिस्ट्रेसन इन्ट्रानेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको वेभसाइट वा फेसबुक पेज एवं माई इन्टा एपको प्रयोग गर्नुपर्नेछ । अडिसन भने जनवरी २५ देखि कोलम्बस ओहायाबाट सुरु हुने र मार्च ३० मा काठमाडौंमा आएर सकिने जनाइएको छ ।