महेन्द्र शाह
सोलुखुम्बु, असार ३०
सोलुखुम्बुका सबै स्थानीय तहमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुको बैठकले गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई मार्गदर्शन गरी स्थानीय तहले आ–आफ्नो योजना तयार गरी कार्यान्वयन गर्ने गराउने तथा मनसुन अवधिमा उच्च सतर्कता अपनाउने र नागरिकलाई सचेतना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।
उनका अनुसार क्षति न्यूनीकरण गर्नका लागि सबै स्थानीय तहमा प्रतिकार्य योजना कार्यान्वयन गरिनेछ । आचार्यका अनुसार बैठकले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सञ्चारमाध्यमहरुमार्फत सचेतनामूलक प्रसारण गर्न गराउन अनुरोध गर्ने, विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा उपचारका लागि जिल्लामा गरिएको क्रियाकलापको समीक्षा गरी महामारी रोकथामका लागि थप सतर्कता अपनाउँदै सोलुखुम्बुका क्वारेन्टाइन र आइसोलेसनहरुलाई मापदण्डबमोजिम व्यवस्थापन निर्णय गरेको छ ।
जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेसनलाई नेपाल सरकारको मापदण्डअनुसार बनाउने पनि निर्णय भएको छ । जसबाट विपत्बाट जोगिनका लागि सहयोग पुग्नेछ । स्थानीय रुपमा रहेका जोखिम क्षेत्रको पहिचान गरी कार्यान्वयन गरिनेछ । सुरक्षा निकाय तथा रेडक्रसलाई उद्धारका लागि तयारी अवस्थामा राखिने भएको छ । जसबाट विपत्को समयमा तत्काल उद्धार गर्न सहज हुनेछ । सोलुखुम्बुका बाढीभन्दा पनि पहिरोको बढी जोखिम रहेको र त्यसैअनुसार काम भइरहेको प्रशासनको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा सडक निर्माण गरिएकाले पनि जिल्लामा पहिरोको जोखिम उच्च रहेको बताइएको छ ।