काठमाडौँ । सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्न पाउने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल)ले मंगलबार निजी क्षेत्रको लगानी रहेका रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रोभेन्चर प्रालिसँग सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा सो सम्झौता भएको हो ।
कार्यक्रममा ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबाट बन्न लागेको प्रसारण लाइन कोसेढुङ्गा साबित हुने बताए । ‘निजी क्षेत्रको साझेदारीमा यस्ता प्रसारण लाइन बनाउँदा निजी क्षेत्रलाई उत्साहित गर्ने मात्र होइन, खर्च कटौती र लक्ष्यप्राप्तिलाई पनि योगदान पु¥याउनेछ’, ऊर्जामन्त्री खड्काले भने ।
निजी क्षेत्रको सहभागिताविना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको मन्त्री खड्काको भनाइ थियो । उनले प्रसारण गुरुयोजना दिगो खालको बनाउन सरकार लागेको बताए । मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता सम्झौताले सहयोग पुग्ने बताए ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले निजी क्षेत्र प्रसारण लाइनको निर्माणमा लाग्नु सरकारको लागि खुसीको कुरा भएको बताए । उनले निजी क्षेत्रविना सरकार एक्लैले ऊर्जा क्षेत्रको विकास गर्न नसक्ने उल्लेख गरे ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले अध्ययन गरेको मध्य तमोर–ढुङ्गेसाँगु २२० केभी प्रसारण लाइन उक्त मोडलमा निर्माण गरिने भएको हो । उक्त निर्माणलाई अगाडि बढाउनका लागि आरपीजीसीएललाई आवश्यक पर्ने ऋण लगानी हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)ले गर्ने गरी सम्झौता भएको छ । उक्त प्रसारण लाइन निर्माण गर्नका लागि आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत डा. ज्ञवालीले सरकारले सन् २०३५ मा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पूरा गर्न सार्वजनिक निजी लगानीमा प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउन लागिएको बताए । उनले बिस्तारै अन्य प्रसारण लाइनमा समेत निजी क्षेत्रको सहभागिता बढाउँदै लैजाने उल्लेख गरे ।
कार्यक्रममा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत गौतमले जलविद्युत् क्षेत्रको प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितासँगै उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा खेर नजाने बताए । उनले अब उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत एचआईडीसीयलले लगानी गर्ने उल्लेख गरे । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सल्लाहकार कृष्णप्रसाद आचार्यले जलविद्युत् क्षेत्रको विकासका लागि चाँडो प्रसारण लाइन सम्पन्न गर्नेगरी काम गर्न जरुरी रहेको बताए ।