काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा १० प्रतिशतभन्दा बढी छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तले २० अर्ब ३७ करोड ३५ लाख ७७ हजार पाँच सय ९३ रुपैयाँ निक्षेप सङ्कलन गरी २३ अर्ब ५४ करोड ३९ लाख ९७ हजार सात सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल प्रवाह भएको कर्जामध्ये १० दशमलव १६ प्रतिशत अर्थात् दुई अर्ब ३९ करोड २० लाख ७० हजार एक सय ४४ रुपैयाँ खराब कर्जा छ ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० अर्ब १८ करोड ४६ लाख १३ हजार ५७ रुपैयाँ निक्षेप सङ्कलन गरी २३ अर्ब ९३ करोड ५६ लाख ३२ हजार एक सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत वर्ष नै लघुवित्तको निष्क्रिय कर्जा (खराब कर्जा) १२ दशमलव ३५ प्रतिशत अर्थात् दुई अर्ब ९५ करोड ६० लाख ५० हजार पाँच सय ६७ रुपैयाँ थियो । दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको अधिकृत पुँजी तीन अर्ब ५० करोड रुपैयाँ छ । निक्षेप राख्ने ग्राहक संख्या चार लाख हाराहारी छ भने कर्जावाला ग्राहकको संख्या एक लाख ८२ हजार छ सय १४ छ ।
केही वर्षअघिसम्म निकै राम्रो मानिएको निर्धन उत्थान लघुवित्त वित्तीय संंस्था पछिल्लो दुई वर्षयता निष्क्रिय कर्जा व्यवस्थापन गर्न नसक्दा धराशायी बन्ने खतार बढेको छ । निक्षेप तथा कर्जा दुवै सङ्कुचित हुनु, नियमितरूपमा कर्जाको साँवाब्याज असुली गर्न नसक्नु, खराब कर्जा निरन्तर बढ्नुले पनि संस्था धराशायी बन्दै गएको हो । देशभर एक सय ८५ वटा शाखाहरू रहेको संस्थामा हाल एक हजार एक सय ११ जना कर्र्मचारी कार्यरत छन् । यो अवस्थामा संंंस्थाले कार्यालय सञ्चालन तथा कर्मचारी व्यवस्थापन शीर्षकमा मात्र वार्षिकरूपमा एक अर्ब रुपैयाँको हाराहारीमा खर्च गर्नेगरेको छ ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणलाई आधार मान्दा संंस्थाले उक्त आर्थिक वर्षमा कर्मचारीको तलब, भत्तालगायतका विभिन्न शीर्षकमा ८४ करोड ७८ लाख ७९ हजार एक सय ७० रुपैयाँ र कार्यालय सञ्चालन शीर्षकमा सात करोड ३९ लाख १८ हजार तीन सय पाँच रुपैयाँ समेत गरी कुल ९२ करोड १७ लाख ९७ हजार चार सय ३५ रुपैयाँ खर्च गरेको छ । निक्षेप तथा कर्जा प्रवाह दुवैमा सङ्कुचन आउँदा आम्दानी सीमित हुनु र खर्चको दायित्व बढ्नुले पनि संस्था पछिल्लो समय कमजोर बन्दै गएको हो ।
लघुवित्तका सहायक महाप्रबन्धक एवं कर्जा प्रमुख नारायणबहादुर कार्की संस्थलाई कमजोर मान्न तयार छैनन् । ‘केही आन्तरिक र बाह्य कारणले गर्दा संस्थामा निष्क्रिय कर्जा बढेको हो, तर यसलाई आधार मानेर संस्था कमजोर भयो भन्नु तर्कसंगत हुँदैन’, उनले भने, ‘विगतमा लघुवित्तपीडितको नाममा दुर्गा प्रसाईले जुन आन्दोलन गरे त्यसले सबै लघुवित्तमा केही समस्या देखियो, नागरिकले पनि लघुवित्तहरूबाट लिएको ऋण तिर्नै पर्दैनजस्तो गरे, यसकै असर अहिले लघुवित्त क्षेत्रमा देखिएको छ ।’
निर्धन उत्थानमा अहिले सबै किसिमका गरी चार लाखको संख्यामा ग्राहक छन् । तीमध्ये कर्जावाला ग्राहकको संख्या मात्र एक लाख ८२ हजार छ सय १४ जना छ । ‘धेरैजसो राम्रा ग्राहक हुनुहुन्छ, एकाध व्यक्तिहरू जो प्रसाईको नजिक भएर कर्जा तिरेका छैनन्’, कार्कीले भने, ‘हालसम्म हामीले ११ सय ५० जनालाई कर्जा नतिरेकै आधारमा कालोसूचीमा राखेका छौँ । त्यसमध्ये पनि पछिल्लो समय ३५ जनाले कर्जा चुक्ता गरिसक्नुभएको छ । अहिलेसम्म हामीले कर्जा चुक्ता गर्न आउनको लागि भन्दै छ हजार तीन सय जना ऋणीको नाम सार्वजनिक गरिसकेका छौँ ।’