काठमाडौं, असार ३१
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले देशभर लकडाउनको अवधिका तीन महिनामा एक हजार एक सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकद्वारा सोमबार सार्वजनिक गरिएको लकडाउनका तीन महिनाको अभिलेख आवधिक प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ ।
प्रतिवेदनमा समेटिएका तथ्य तथ्यांकहरू गत चैत ११ गतेदेखि असार १० गतेसम्मका रहेको इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट आठ सय ४१ जना महिलासहित एक हजार ५५ जना गरी एक हजार एक सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा चार सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा दुई सय ८४ जना पीडित भएको इन्सेकले जनाएको छ ।
त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, एक सय १२ जना घाइते भएको, एक सय दुई जनालाई कुटपिट गरिएको, छ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको प्रतिवेदनमा उल्लेख छ ।
लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र संवद्र्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।