काठमाडौं । १७ औँ वाणिज्य बैंकको रूपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २२ औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबलटेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औँ वार्षिकोत्सव अफर’ ल्याएको छ । यही अवसरमा बैंकले देशका विभिन्न स्थानहरू; काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै, ग्राहकहरू एवं स्थानीयवासी गरी एक सय दुई जना रक्तदाताहरूको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरूमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।