काठमाडौं, असार ३१
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूत बीच औपचारिक भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैरभन्सार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर्सम्बन्ध विस्तार, आईसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तार, कन्टेनरको विलम्ब चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरणलगायतका विषयमा छलफल हुनुका साथै यी विषयहरूमा महावाणिज्यदूतबाट सक्दो सहयोगको अपेक्षा महासंघका तर्फबाट सो अवसरमा गरिएको थियो ।
सो अवसरमा नवनियुक्त महावाणिज्यदूत पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने, बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवर्द्धनमा आफूले सक्दो सहयोग गर्ने र नेपाली निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाको सहभागिता थियो ।