काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्तरूपमा शर्मालाई प्रदान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै तीन लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छन् । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् । यसअघि सुनैना घिमिरे पाण्डे, शिला कंसाकार कार्की, गुणकेशरी प्रधान र तिमिला यमी यो अवार्डबाट सम्मानित भएका थिए । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेषगरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरू गरेको जनाएको छ ।
अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिइन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आबद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षालगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्वपूर्ण भूमिका खेलेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एन्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनीप्रोफेसनल म्यानेजमेन्ट कमिटीमा पनि आबद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै, वित्तीय समावेशिता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।