काठमाडौं । एभरेस्ट बैंकले फिदिम र फुङलिङमा आफ्नो एक सय ३० औँ र एक सय ३१ औँ शाखा शुभारम्भ गरेको छ । बैंकका अनुसार कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार फिदिम नगरपालिका वडा नं १, पाँचथरमा एक सय ३० औँ शाखा र शुक्रबार फुङलिङ नगरपालिका वडा नं ४, ताप्लेजुङमा १३१ औँ शाखाको शुभारम्भ गरिएको हो । यी दुई शाखाको सञ्चालनपश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालमार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्ना एक सय ३१ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।