काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ बिच्छयाँमा अवस्थित बिच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरूलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच ईसीडी र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत दुई सय ११ विद्यार्थीहरूलाई बैंकले स्वेटर प्रदान गरेको हो ।
बिकट हिमाली भेगका न्यून आयआर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरूको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।