वासिङ्टन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाएको छ । नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर टाढाबाट गुज्रिएको थियो । यस्तो रेकर्ड बनाएको यो संसारकै पहिलो यान हो ।
एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले जनवरी १ मा आफ्नो स्थिति र आविष्कारहरूको विस्तृत डाटा पठाउने जनाएको छ । सूर्यको नजिक जाँदा, अन्तरिक्ष यानको गति छ दशमलव नौ लाख किलोमिटर प्रतिघण्टाभन्दा बढी थियो । त्यतिबेला यो यानले नौ सय ८२ डिग्री सेल्सियस तापक्रमको सामना गरिरहेको थियो । यति तीव्र गर्मीका बाबजुद पनि यानमा कुनै क्षति भएको छैन ।
सूर्यको बाहिरी वायुमण्डल जसबाट पार्कर गएको थियो, त्यसलाई कोरोना भनिन्छ । यो सूर्य र हाम्रो सौर्यमण्डलमा यसको प्रभाव बुझने दिशामा एक प्रमुख कदम हो ।
नासाबाट प्राप्त जानकारीअनुसार पार्कर सोलार प्रोबले डिसेम्बर २७ मा पृथ्वीमा नासाको जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी टोलीलाई सिग्नल पठाएको थियो, जसका कारण वैज्ञानिकहरूले यो सुरक्षित र ठीकसँग काम गरिरहेको थाहा पाएका थिए ।
नासाको यो मिसनको उद्देश्य पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्यको बारेमा थप जानकारी सङ्कलन गर्नु हो । सूर्यको बाहिरी वायुमण्डलमा अन्तरिक्ष यानको प्रवेशले वैज्ञानिकहरूलाई सूर्यको बारेमा थप जान्न मद्दत गर्नेछ ।