काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले आज बिहान ००.०१ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल दुई रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य एक सय ६० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य एक सय ५० रुपैयाँ ५० पैसा पर्छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६२ रुपैयाँ र डिजेलको एक सय ५२ रुपैयाँ पर्छ । यस्तै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक सय ६३ रुपैयाँ र डिजेलको एक सय ५३ रुपैयाँ पर्छ ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ डलर घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ पोखरामा प्रतिकिलो लिटर १७ डलर र भैरहवामा २४ डलर घटाएकोे छ ।