बेइजिङ । कोभिड–१९ देखिएको पाँच वर्षपछि चीनमा फेरि एक पटक नयाँ भाइरसको संक्रमण देखा परेको छ । यो भाइरसको लक्षणहरु पनि कोरोना भाइरसको जस्तै पाइएकोे छ । यो भाइरसको नाम ‘हुमन मेटाफ्युमो भाइरस’ दिइएकोे छ जुन एक आरएनए भाइरस हो ।
यो भाइरसबाट संक्रमित हुँदा, बिरामीलाई चिसो हुने र कोभिड–१९ जस्तै लक्षणहरु देखापर्ने गरेको बताइएको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा परेको छ । जसमध्ये दुई वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिमेन्सन (सीडीसी)का अनुसार यसको लक्षणहरुमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्दहुने र घाँटीमा घरघराहट हुने देखिएको छ । यो संक्रमणबाहेक चीनमा इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा नमोनिया र कोभिड–१९ का केसहरु पनि रिपोर्ट गरिएका छन् । यसका बिरामीको संख्या निरन्तर बढ्दै गएको बताइएकोे छ ।
सामाजिक सञ्जालमा बिरामीको तस्बिर राखिएका पोस्टहरु देख्न सकिन्छ । तर भाइरस फैलिएको बारेमा चीन सरकारले यसबारे कुनै जानकारी गराएको छैन ।
द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरीजस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ । खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ ।
यदि भाइरसको प्रभाव गम्भीर छ भने, यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ । समाचार माध्यमहरुका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ ।