काठमाडौं । अर्थतन्त्र सुस्त हुँदाको असर बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने चालू पुँजी कर्जामा देखिएको छ । कुनै पनि संस्था/फर्म/कम्पनीको चालू सम्पत्ति र चालू दायित्वमा हुने अन्तरलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जा चालू पुँजी कर्जा हो । यस प्रकारको कर्जा लिन संस्था/फर्म/कम्पनीहरू मात्र योग्य हुन्छन् । कुनै प्राकृतिक व्यक्तिले चालू पुँजी कर्जा लिन पाउँदैनन् ।
अर्कोतर्फ कुनै विशेष समय वा अवधि वा मौसममा मात्र उत्पादन हुने तथा उद्योग सञ्चालनार्थ उपयोगी हुने कच्चापदार्थ सस्तो मूल्यमा खरिद गर्न उद्योगीको आवश्यकताअनुसार प्रदान गरिने चालू पुँजी प्रकृतिको कर्जा अल्पकालीन माग कर्जा हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूले अल्पकालीन अवधिको चालू पुँजी कर्जा आठ खर्ब ५२ अर्ब ७५ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा यस्तो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१ अर्ब ६३ करोड ४० लाख रुपैयाँले घटेको छ । चालू पुँजी शीर्षकमा जम्मा सात खर्ब ७१ अर्ब १२ करोड २० लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।
चालू पुँजीको कर्जाको प्रत्यक्ष सम्बन्ध उत्पादन र रोजगारीसँग हुन्छ । पछिल्लो समय अर्थतन्त्र सुस्त बनेको कारण नयाँ उद्योग, व्यवसायहरू खुल्ने क्रम घटेको छ । त्यसैले चालू पुँजी कर्जा घटेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् । अहिले कुनै पनि उद्योग व्यवसायहरू राम्रोसँग चलेका छैनन् । उनीहरूले विगतमा लिएको कर्जाको साँवाब्याज पनि राम्रोसँग तिर्न सकेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गरेको चालू पुँजी कर्जामध्ये वाणिज्य बैंकहरूले मात्र प्रवाह गरेको कर्जा रकम सात खर्ब ५५ अर्ब २४ करोड २० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ अर्ब २१ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले चालू पुँजी शीर्षकमा आठ खर्ब २६ अर्ब ४५ करोड २० लाख रुपैयाँ कर्जा प्रदान गरेका थिए । राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले चालू पुँजी शीर्षकमा नौ अर्ब दुई करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको कात्तिकसम्मको तुलनामा १० अर्ब ८९ करोड रुपैयाँ कम हो । गत वर्ष कात्तिकसम्म विकास बैंकहरूले चालू पुँजी कर्जा शीर्षकमा १९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।
फाइनान्स कम्पनीहरूले गत कात्तिकसम्म चालू पुँजी शीर्षकमा कुल छ अर्ब ८५ करोड ३० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । जुन गत वर्ष कात्तिकसम्मको तुलनामा ४६ करोड ६० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले चालू पुँजी कर्जा शीर्षकमा कुल छ अर्ब ३८ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।