हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–२ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार लागुऔषध गाँजासहित गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधन सार्वजनिक गरेको हो ।
पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँचचौकीमा प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपी लुकाइछिपाइ गरी ल्याइएको अवस्थामा अवैध लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।