काठमाडौं । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसले मरिन इन्स्योरेन्ससम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । नेभिगेटिङ रिक्स, इन्स्योयर कन्फिडेन्स भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला यही माघ दुई गतेदेखि तीन गतेसम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा सम्पन्न गरेको हो ।
कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्समध्ये १२ इन्स्योरेन्स कम्पनी, दुई रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरू र सर्भेयरहरू प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संस्थाकै पहिलो कार्यक्रम भए पनि भव्य साथ सम्पन्न भएको थियो ।
कार्यक्रममा मुख्य अतिथिको रुपमा चंकी क्षेत्री, नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख उपस्थित भएका थिए । त्यस्तै, विशेष अतिथिको रूपमा प्राडा फत्त बहादुर केसी र राजुरमण पौडेलको उपस्थिति रहेको थियो । प्राडा फत्त बहादुर केसी नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमुख हुन् । मुख्य अतिथि चंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर अन्जन ढकालले संयुक्तरूपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकको रुपमा भारतबाट समिरन लाहिरी आएका थिए । समिरन लाहिरी, जोनएनयुबाट अर्थशास्त्रमा स्नातकोत्तर, एमए र एआईआईआई उपाधिधारी, हाल भारतको प्रिफरड पार्टनर इन्स्योरेन्स ब्रोकरका कार्यकारी निर्देशक हुन् । उनी विश्वकै ठूलो ब्रोकरिङ नेटवर्क युनिसन स्टेड फास्ट (जर्मनी मुख्यालय) का सदस्य हुन् । उनले भारत, मौरिसस र नेपालमा करिब चार दशकसम्म बीमा उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी भारत र नेपालका ठूला व्यावसायिक संस्थाहरूलाई परामर्शदाताका रूपमा पनि काम गरिरहेका छन् ।
दुई दिने कार्यक्रममा सहभागीहरूले मरिन इन्स्योरेन्सका नीतिहरू, अभ्यास र अन्तर्राष्ट्रिय मापदण्डहरूलाई गहनरूपमा छलफल गरिएको थियो । साथै, यस क्षेत्रमा देखिएका चुनौतीहरू र अवसरहरूको समीक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिको कार्यकारी अध्यक्ष कुमार बहादुर खत्रीको अध्यक्षतामा भव्य साथ सम्पन्न भएको हो । उनले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै आफूले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागू गरेर नेपाली बीमा बजारलाई विश्वासिलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरूलाई अनुरोध गरेका थिए ।