अछाम । जिल्ला अस्पतालका बिरामीलाई स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले तातो कम्बल र तन्ना वितरण गरेको छ । स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको जानकारी दिए ।
स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले चिसो बढ्दै गइरहेकाले बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने भन्दै अस्पतालमा भर्ना भएका बिरामीको सहजताका लागि कम्बल वितरण गरिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले कम्बल हस्तान्तरण गर्दै जाडोयाममा बिरामीको शारीरिक अवस्थालाई मध्यनजर गरी कम्बल वितरण गरी परोपकारी काम गरेको भन्दै प्रशंसा गरे ।
बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्दै उनले जिल्ला अस्पताकाबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको बताए । पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको बताए ।
मन्त्री खड्काले प्रदेशका सबै जिल्लामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिदै पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमाथि ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गरिएको बताए ।