काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशमा निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कोशीका १४ वटा जिल्लाबाट बैंक तथा वित्तीय संस्थाले चार खर्ब ७७ अर्ब ९० करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् भने पाँच खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
कोशीमा गरेको कुल ऋण लगानीमध्ये सबैभन्दा बढी मोरङ जिल्लामा ४३ दशमलव नौ प्रतिशत र ताप्लेजुङमा सबैभन्दा कम शून्य दशमलव चार प्रतिशत छ । यसैगरी थोक तथा खुद्रा बिक्रेतामा एक खर्ब ३१ अर्ब, उपभोगमा एक करोड २४ अर्ब रुपैयाँ र गैरखाद्य वस्तुमा ७३ अर्ब ८७ करोड रुपैयाँ प्रवाह गरेका छन् । यस्तै घरजग्गा क्षेत्रमा २१ अर्ब १२ करोड रुपैयाँ र निर्माण क्षेत्रमा नौ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेका छन् ।
कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको प्रतिशाखा सेवाग्राहीहरूको संख्या दुई हजार सात सय एक पुगेको छ । कोशीमा एक हजार आठ सय ३७ वटा शाखाहरू सञ्चालनमा रहेकोमा प्रतिशाखा सेवाग्राहीको संख्या २७ सय छ । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्ममा देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या (लघुवित्त वित्तीय संस्था समेत गरी) ११ हजार पाँच सय ३० रहेको छ भने प्रतिशाखा सेवाग्राहीहरूको संख्या दुई हजार पाँच सय २९ छ ।
कोशी प्रदेशमा कुल एटीएम काउन्टरको संख्या भने छ सय ८१ रहेको छ । देशभर यस्तो संख्या पाँच हजार एक सय ९३ वटा रहेको छ । देशभर एक करोड २० लाख ४७ हजार दुई सय पाँच डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या रहेकोमा कोशी प्रदेशमा मात्र यस्तो कार्ड प्रयोगकर्ताहरूको संख्या १७ लाख तीन हजार आठ सय ४२ रहेको छ । देशभर दुई लाख ६३ हजार चार सय ३९ क्रेडिट कार्ड प्रयोगकर्ताहरूको संख्या रहेकोमा कोशी प्रदेशमा मात्र भने ३१ हजार पाँच सय ७९ क्रेडिट कार्ड प्रयोगकर्ताहरू छन् । यसैगरी देशभर एक लाख ६० हजार छ सय ९२ प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरूको संख्या रहेकोमा कोशी प्रदेशमा मात्र भने सात हजार नौ सय ७३ प्रिपेड कार्ड प्रयोगकर्ताहरूको संख्या छ ।
कोशी प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या भने ३४ लाख १४ हजार एक सय ९९ रहेको छ । देशभर यस्तो संख्या दुई करोड ३७ लाख ३४ हजार पाँच सय ३८ रहेको छ । २०८१ असार मसान्तसम्ममा देशभर १९ लाख ५८ हजार एक सय १० मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा कोशी प्रदेशमा मात्र दुई लाख आठ सय ३९ छन् । यसैगरी देशभर पाँच करोड ५९ लाख २४ हजार छ सय ९६ निक्षेप खाता संख्या रहेकोमा कोशी प्रदेशम मात्र सञ्चालनमा रहेको निक्षेप खाताको संख्या ७६ लाख ५९ हजार ३५ पुगेको छ । देशभर सात लाख ३५ हजार दुई सय ५८ क्युआर मर्चेन्टको संख्या रहेकोमा कोशी प्रदेशमा मात्र भने यस्तो संख्या एक लाख सात हजार छ सय ५८ रहेको छ ।