काठमाडौं । स्वदेशी उत्पादन तथा सेवाहरूको प्रवर्द्धन र व्यापार गर्ने उद्देश्यले आज बिहीबारदेखि बृहत् प्रदर्शनी ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुने भएको छ । शनिबारसम्म चल्ने सो मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पश्मिना इन्टरनेसनल एक्स्पोको पनि आयोजना हुँदैछ । यो मेलालाई नेपाल पश्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा एक सय ५० भन्दा बढी स्वदेशी स्टलहरू रहने नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए । मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरू, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेसन सो र नेपाली रैथाने खानाका परिकारहरू रहने उनले बताए । मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फाम टु फाइबर, फाइबर टु फेसन देखाउने उनको भनाइ छ । पश्मिना मेला नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो । मेलामा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) मेलाको सहआयोजकका रूपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेका छन् । मेलालाई राइजिङ नेपाल र इभेन्ट सन्सारले व्यवस्थापन गर्ने मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली पश्मिना पुरानो र नेपाली सीपमा आधारित भए पनि प्रचारप्रसार र व्यापार हुन नसकिरहेकाले यसको प्रवर्द्धन गर्नुपर्छ भनेर नै केन्द्रले मेलामा चासो राखेको बताए । स्वदेशी उद्योगलाई बचाउने, प्रवर्द्धन गर्ने लक्ष्यमा यो मेलाले सहयोग गर्ने नेपाल उद्योग परिसंघका महानिर्देशक डा घनश्याम ओझाको भनाइ छ । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्नुपर्न यो मेलाले सहयोग गर्ने उनले बताए ।
मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापक केसीले जानकारी दिए ।