जलगाउँ भारत । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ रेल दुर्घटना भएको छ । पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुले रेलको चेन तानेका थिए । त्यसपछि रेल रोकिएको थियो भने भयभीत भएका यात्रुहरु रेलबाट हाम फालेका थिए । त्यहीबेला अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुचेको छ ।
जलगाउँ प्रहरीले घटनास्थलमा १२ जनाको मृत्यु भएकोे पुष्टि गरेको छ भने ४० यात्रु घाइते भएको बताएको छ । यसमध्ये अधिकांश गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरुले घटना भएको रेल रोकिएपछि अर्को ट्र्याकमा बसेका यात्रुले रेल आएको पत्तै नपाएको जनाएका छन् । जसका कारण कर्नाटक एक्सप्रेसले ठूलो संख्यामा मानिसलाई कुल्चेको थियो ।