लन्डन, साउन ५
टिकटकले आफ्नो मुख्यालय बेलायती राजधानी लन्डनमा सार्न बेलायती सरकारसँग छलफल गरिरहेको खुलेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुले स्रोतको हवाला दिँदै पछिल्लो समय चीनसँग विवाद बढ्दा टिकटकमाथि विभिन्न देशले अनुसन्धान गर्ने र प्रतिबन्ध लगाउनथालेपछि मुख्यालय नै सार्ने तयारी गरिरहेको जनाएका हुन् ।
विगत केही महिनायता कम्पनीले बेलायत सरकारसँग मुख्यालय लन्डनमा राख्न छलफल गरिरहेको रोयटर्सले जनाएको छ । चिनियाँ स्वामित्वबाट टाढै राख्न यस्तो गर्नलागिएको बताइएको छ। त्यसो त लन्डनसहित अन्य सहरहरु पनि विकल्प रहेको बताइएको छ । यो वर्ष कम्पनीले क्यालिफोर्नियामा धेरै रोजगारी सिर्जना गरेको थियो ।उसले वाल्ट डिस्नेका पूर्वसहकार्यकारी केभिन मेयरलाई पनि हायर गरेको छ । उनी टिकटकका प्रमुख कार्यकारी हुँदै छन् । उनी अमेरिकाका हुन् । वासिङटनमा कम्पनीले व्यापक अनुसन्धानको सामना गर्नुपरेको छ ।
चीनले कम्पनीलाई डाटाको लागि दबाब दिनसक्ने भएकाले पनि अनुसन्धान भइरहेका छन् । टिकटकमा चिनियाँ कम्पनी बाइटीडान्सको स्वामित्व छ । एक स्रोतलाई उद्धृत गरी रोयटर्सले जनाएअनुसार अमेरिकामै मुख्यालय राख्न केही हप्तायता केन्द्रित भएको छ । तर लन्डनलाई पनि नकारेको छैन । कम्पनीले लन्डनमा आफ्नो वर्कफोर्स पनि बढाउँदै लग्ने तयारीमा छ ।