काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर)सम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप दुर्ई दशमलव सात प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० दशमलव नौ प्रतिशतले बढेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव तीन प्रतिशत, ३३ दशमलव छ प्रतिशत र ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव तीन प्रतिशत, २६ दशमलव तीन प्रतिशत र ६० दशमलव सात प्रतिशत रहेको थियो ।
२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने तीन दशमलव पाँच प्रतिशत अर्थात् एक खर्ब ७८ अर्ब २९ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब १० अर्ब एक करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ ।
२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीन दशमलव छ प्रतिशतले, विकास बैंकहरूको दुई दशमलव सात प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह चार दशमलव तीन प्रतिशतले बढेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १३ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ दशमलव एक प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११ दशमलव छ प्रतिशत र ६७ दशमलव सात प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव पाँच प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा तीन दशमलव छ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव सात प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा दुई दशमलव दुई प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १९ दशमलव आठ प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा ४७ दशमलव तीन प्रतिशतले, हायर पर्चेज कर्जा तीन दशमलव सात प्रतिशतले, नगद प्रवाह कर्जा एक दशमलव नौ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव एक प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अधिविकर्ष कर्जा ११ दशमलव एक प्रतिशतले घटेको छ ।