काठमाडौं । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ–सेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरू थप गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिबद्धताका साथ आफ्नो १६ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । ‘सबैका लागि सधैँ र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्त बोक्दै लाखौँ मानिसहरूलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउँदै आइरहेको इ–सेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इ–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्कजस्ता सुविधाहरू दिँदै आइरहेको छ । लाइनबाट अनलाइनसम्मको यात्रा तय गरेको इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् । करिब एक करोड कुल प्रयोगकर्ता भएको इ–सेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसैगरी इ–सेवाको दुई लाख ६८ हजारभन्दा बढी एजेन्ट र चार लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू रहेका छन् ।
इ–सेवाले आगामी दिनहरूमा आफ्नो सेवाहरू विस्तार गर्ने योजनाहरू बनाइरहँदा आफ्नो प्रयोगकर्ताहरूको आवश्यतालाई मध्यनजर गर्दै नयाँ फिचरहरू ल्याउनुको साथै तिनको स्तरोन्नतिमा समेत कार्यरत रहने प्रतिवद्धता रहेको इ–सेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् ।