काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले वृत्ति तथा रोजगार मेलाको आयोजना गर्ने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मेलामा सयौँ युवाहरूलाई रोजगार दिने तयारी गरिएको जनाइएको छ । मेलामा कुल ४८ वटा स्टल रहने छन्, यसमा १५ वटा रोजगारीका अवसर खुलाउने, छ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधिसम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् । कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका एक सय जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र चार सय जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ । युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ ।
नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । ‘शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता’ नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । नगरपालिकाले गत वर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेको थियो । यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने नगरपालिकाले जनाएको छ ।