काठमाडौं । नेपालले सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने सरोकारवालाहरूले बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकमा भएको सामूहिक छलफलमा सहभागीहरूले आईटीमा थोरै लगानी गर्नसके मात्रै पनि राम्रो परिणाम हात पार्न सकिने बताए ।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आईटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताएका हुन् । उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौँ । हरेक आईटी कलेजहरूमा कोटा नछुट्याइ सहजै आईटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौँ ।’
हाल विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको उनले बताए । सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । युवापुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रूपमा लिनुपर्ने उनको राय छ । ‘अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेबित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ,’ उनले भने, ‘अरूले के सोचिरहेका छन् भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहनरूपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।’
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डीन प्राडा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यावहारिकरूपमा लागु गर्न आवश्यक छ’, उनले भने । सरकारले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
सिनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डिङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भूगोलअनुसारको उत्पादित सामग्रीको राज्यले प्रवद्र्धन गर्न सकेको अवस्थामा समग्र आर्थिकरूपान्तरण गर्न सहज हुने उल्लेख गरे । ‘स्टार्टअप, उद्यमशीलता र व्यावसायिक सिप तथा तालिमका विषय भूगोलअनुसार जनतालाई जागृत गर्न आवश्यक छ’, उनले भने, ‘बीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियतअनुसारको काम गरेर स्वतन्त्ररूपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिभावक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।’
योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए । जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औँल्याए । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक रहेको तर उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने मान्यता भने नहुने उनले बताए । उनले पनि हरेक संकायमा आईटी र स्टार्टअपको आधारभूत ज्ञान दिन आवश्यक रहेको औँल्याए ।
त्यस्तै, खिम्भु टेकका सीईओ कार्भीका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रूचिको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताइन् । तीनै तहका सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण गर्न सकेको अवस्थामा आईटी क्षेत्रमा भएका सम्भावनाहरूलाई अवसरको रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो । प्रविधिको विकासले अहिले स्टार्टअपका लागि सहयोग पुर्याएको भए पनि योग्य जनशक्तिको अभाव देखिएको उनले बताइन् ।