काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप सङ्कलन ६७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको माघ २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब २१ अर्ब रुपैयाँँ पुगेको छ ।
सो अवधिसम्म वाणिज्य बैंकहरूले ५९ खर्ब ९० अर्ब रुपैयाँँ निक्षेप सङ्कलन गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूले सङ्कलन गरेको निक्षेप सात खर्ब ३१ अर्ब रुपैयाँँ पुगेको छ । माघ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २५ अर्ब रुपैयाँँ कर्जा लगानी गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूले ४८ खर्ब १२ अर्ब रुपैयाँँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले छ खर्ब १३ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९ दशमलव ४१ प्रतिशत कायम भएको छ । बैंकहरूले कुल निक्षेप सङ्कलनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यसअनुसार अहिले वित्तीय प्रणालीमा थप छ खर्ब २३ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । पर्याप्त क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा तरलता बढ्दै गएको छ । अधिक तरलताको स्थिति नियन्त्रणका लागि राष्ट्र बैंकले हरेक हप्ता अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर बजारबाट पैसा ताान्दै आएकोे छ । यस साता पनि राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।
दुई खर्ब ३९ अर्बले बढ्यो निक्षेप
पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब ३९ अर्ब छ करोड रुपैयाँ बढेको छ । गत वर्ष पुससम्म निक्षेप रकम छ दशमलव छ प्रतिशत अर्थात् तीन खर्ब ७७ अर्ब सात करोड रुपैयाँँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप नौ दशमलव नौ प्रतिशतले बढेको छ ।
२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव छ प्रतिशत, ३४ दशमलव एक प्रतिशत र ५२ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ दशमलव नौ प्रतिशत रहेको थियो ।
२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव पाँच प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने चालू आवको पुस मसान्तसम्ममा पाँच दशमलव दुई प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव दुई प्रतिशत र ३६ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह पाँच दशमलव तीन प्रतिशतले, विकास बैंकहरूको चार दशमलव चार प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह पाँच दशमलव तीन प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४ दशमलव नौ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११ दशमलव चार प्रतिशत र ६७ दशमलव सात प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा सात दशमलव सात प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा चार दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव सात प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव सात प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव आठ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव शून्य दुई प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये चालू आवको पुस मसान्तसम्ममा आवधिक कर्जा तीन दशमलव एक प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २६ दशमलव तीन प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ५६ दशमलव छ प्रतिशतले, हायर पर्चेज कर्जा तीन दशमलव आठ प्रतिशतले, नगद प्रवाह कर्जा चार दशमलव सात प्रतिशतले र रियल स्टेट कर्जा तीन दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने नौ दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।