काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छैन । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म राष्ट्रिय गौरवका १९ वटा आयोजनाको खर्च २५ दशमलव ७० प्रतिशतमा सीमित रहेको छ । २७ वटा आयजनामध्ये चालू आर्थिक वर्षमा १९ वटा आयोजना लागि ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएकोमा पुस मसान्तसम्म १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ ।
यस आर्थिक वर्षका लागि चालूतर्फ दुई अर्ब ६८ करोड ६१ लाख रुपैयाँ, पुँजीगततर्फ ६३ अर्ब २५ करोड ३५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ७५ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेकोमा पुस मसान्तसम्म चालूतर्फ एक अर्ब २१ करोड ३९ लाख रुपैयाँ, पुँजीगतर्फ १५ अर्ब ९३ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ ।
उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गौरवका आयोजनाहरू केही सम्पन्न, केही सञ्चालनमा रहेको बताउँदै पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण मोडालिटी तयार हुने क्रममा रहेको बताए । उनका अनुसार राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आएको र अन्य आयोजना कार्यान्वयनको चरणमा रहेका छन् । मेलम्ची निर्माणसम्पन्न भइसक्दा पनि पानी वितरण हुन नसक्दा नागरिकहरू यस आयोजनाबाट लाभान्वित हुन सकेका छैनन् ।
समीक्षा अवधिमा पुष्पलाल (मध्य पहाडी) राजमार्गले एक अर्ब १२ करोड, हुलाकी राजमार्गले तीन अर्ब १९ करोड, उत्तर दक्षिण लोकमार्ग (कोशी करिडोर) ३९ करोड २० लाख, कालिगण्डकी कोरिडार (गैँडाकोट–राम्दाी मालढुङ्गा) सडक योजनाले ८६ करोड ७६ लाख, कालिगण्डकी कोरिडोर (बेनी जोमसोम कोरला सडक योजना)ले ४० करोड ४२ लाख, उत्तर दक्षिण (कर्णाली कोरिडोर) हिल्सा सिमिकोट सडक योजना, हुम्लाले नौ करोड ५७ लाख, रेल, मेट्रो रेल तथा मनोरेल विकास आयोजनाले १५ करोड तीन लाख, काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाले पाँच अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले २१ करोड रुपैयाँ, लुम्बिनी विकास कोषले ४४ करोड, बबई सिँचाइ आयोजनाले ६६ करोड ६३ लाख, महाकाली सिँचाइ आयोजनाले ७१ करोड ९३ लाख, सिक्टा सिँचाइ आयोजनाले ४३ करोड १८ लाख, रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ५५ करोड ७३ लाख, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ५२ करोड ७१ लाख, सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाले ५४ करोड ५५ लाख, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले १३ करोड २४ लाख र मेलम्ची खानेपानी आयोजनाले (पहिलो चरण) १० करोड ९६ लाख र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) एक अर्ब ११ करोड १७ लाख खर्च गरेको छ ।
सोहि अवधिमा भौतिक प्रगति भने पुष्पलाल (मध्य पहाडी) राजमार्ग एक हजार पाँच सय १३ किलोमिटर, हुलाकी राजमार्ग एक हजार तीन सय ६४ किलोमिटर र सातवटा पुल र तीनवटा कलर्भट निर्माण, उत्तर–दक्षिण लोकमार्ग (कोशी करिडोर) तीन दशमलव पाँच किलोमिटर, नेपाली सेनाफर्त खाँदबी–किमाथांका (च्याम्ताङ्ग–घोङ्गप्पा खण्ड) सडक सात दशमलव ३० किलोमिटर ट्र्याक, कालिगण्डकी कोरिडार (गैंडाकोट–राम्दाी मालढुङ्गा) सडक योजना एक सय ९५ किलोमिटर, कालिगण्डकी कोरिडोर (बेनी जोमसोम कोरला सडक योजना) ९३ दशमलव पाँच किलोमिटर, उत्तर दक्षिण (कर्णाली कोरिडोर) हिल्सा सिमिकोट सडक योजना, हुम्ला ९३ दशमलव पाँच किलोमिटर, नेपाली सेनातर्फ लालिबगर दुल्लीकुन्ना खण्ड र घाट पारिचौर बद्रीगाउँ भुक्काखोला खण्ड १५ दशमलव ३५ किलोमिटर ट्र्याक, रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजना बर्दिबास चोथा खण्डमा छ किलामिटर ट्र्याक, काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना तीन हजार चार सय २२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
साथै भौतिक प्रगतिअन्तर्गत लुम्बिनी विकास कोष ७२ दशमलव ५० प्रतिशत, बबई सिँचाइ आयोजना ६३ दशमलव एक किलोमिटर मूल नहर र तीन सय २० दशमलव १८ किलोमिटर शाखा नहर निर्माण र पाँच सय हेक्टर सिञ्चित गेत्र विकास तथा विस्तारको कार्य सम्पन्न, महाकाली सिँचाइ आयोजना २८ किलोमिटर, सिक्टा सिँचाइ आयोजना ९८ दशमलव २५ किलोमिटर मूल नहर निर्माण, रानी जमरा कुलरिया सिँचाई आयोजना तीनवटा पुल निर्माण र १४ किलोमिटर नहर निर्माण सम्पन्न, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पावर हाउस निर्माणस्थल कार्यान्वयनमा, सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना १३ दशमलव तीन किलोमिटर सुरुङ खन्ने काम सम्पन्न गरिएको छ । र भौतिक प्रगतिअन्तर्गत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम एक सय मिटर तटबन्ध निर्माण र दुई लाख बिरुवा उत्पादन तथा वृक्षारोपण, मेलम्ची खानेपानी आयोजना (पहिलो चरण) हेडवक्र्स तथा सुरुङ सञ्चालन गरी काठमाडौंमा खानेपानी वितरण गरिएको, बाढीबाट गतिग्रस्त मुख्य प्रवेश मार्गमा चारवटा वा पुननिर्माण सम्पन्न, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ३० किलोमिटर ट्रान्सिमिसन लाइनको रिसर्भेको काम सम्पन्न, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बारा बकैया खोलमा नदी नियन्त्रण काम, बुढीगण्डकी जलविद्युत् आयोजना जग्गाको मुआब्जा वितरण, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गरिएको छ ।
मूलपानी क्रकेट ऐकेडमी तथा रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्यान्वयनको चरणमा रहेको बताइएको छ । आयोजनाहरूमा समयाअवधि थप गर्दै गए पनि निर्माणकार्य भने निराशाजनक रहेको छ । तोकिएको समयमा आयोजनाहरू सम्पन्न नहुनुको साथै काम समेत तीव्र गतिमा अघि बढाउन नसक्दा आयोजनाहरूको लागत र समय दुवै बढेको विज्ञहरू बताउँछन् । पछिल्ला वर्षमा आयोजनालाई लिएर तीन तह अर्थात् संघ, प्रदेश र स्थानीय तहबीच द्वन्द्व देखिएको थियो । द्वन्द्व निवारणका लागि सरकारले ‘आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०७९’ तयार गरी आयोजना अघि बढाएको थियो । उक्त मापदण्डले आयोजनामा दोहोरोपना हटाई विकासको लागत र समयलाई न्यून तुल्याउन र गुणस्तर, अपनत्व र उत्तरदायित्व अभिवृद्धि गर्नका लागि ल्याइएको हो तर पनि आयोजना अघि बढ्न सकेको छैन ।