काठमाडौँ । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६३ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६३ लाख ३६ हजार एक सय १७ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा ३१ लाख बढी हो । गत वर्ष पुसमा यस्तो संख्या दुई करोड ३२ लाख १६ हजार तीन सय ८३ थियो ।
२०८१ पुस मसान्तसम्म वाणिज्य बैंकहरूबाट मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकको संख्या दुई करोड २५ लाख ३५ हजार आठ सय ५८ पुगेको छ । जुन एक वर्षअघि दुई करोड छ हजार पाँच सय ८६ थियो । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने ग्राहकको संख्या १४ लाख ८७ हजार तीन सय ५५ छ । यस्तै शाखारहित सेवाग्राहीको संख्या दुई लाख ९८ हजार चार सय ७३ छ । गत वर्ष पुसमा वाणिज्य बैंकहरूको इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १२ लाख ७९ हजार आठ सय १८ थियो भने शाखारहित सेवाग्राहीको संख्या तीन लाख पाँच सय नौ थियो ।
विकास बैंकहरूबाट २०८१ पुस मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३५ लाख २६ हजार पाँच सय तीन छ । गत वर्ष पुसमा यस्तो संख्या ३० लाख ३४ हजार तीन सय ४९ थियो । यस्तै अहिले विकास बैंकहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने सेवाग्राहीको संख्या छ लाख १३ हजार आठ सय ८८ छ भने शाखारहित सेवाग्राहीको संख्या एक हजार तीन सय ७४ छ । गत वर्ष विकास बैंकबाट इन्टरनेट बैंकिङ प्रयोग गर्ने सेवाग्राहीकोे संख्या ३० लाख ३४ हजार तीन सय ४९ र शाखारहित सेवाग्राहीको संख्या एक हजार चार सय ९२ थियो ।
फाइनान्स कम्पनीहरूबाट मोबाइल बैंकिङ सेवा लिने प्रयोगकर्ताको संख्या दुई लाख ७३ हजार सात सय ५६ पुगेको छ । जुन एक वर्षअघि २०८० पुसमा एक लाख ७५ हजार चार सय ४८ थियो । गत पुससम्म फाइनान्स कम्पनीहरूबाट इन्टरनेट बैंकिङ सुविधा लिने ग्राहकको संख्या १७ हजार एक सय ४१ छ । जुन एक वर्षअघि १४ हजार नौ सय ४२ थियो ।