काठमाडौं । क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा रूपान्तरण भएको कामना सेवा विकास बैंकको समग्र वित्तीय अवस्थामा अप्रत्यासित चमत्कार देखिएको छ । तत्कालीन समयमा क्षेत्रीयस्तरको बैंकको रूपमा वित्तीय कारोबार सञ्चालन गरेको बैंकले विसं २०७३ असार छ गते राष्ट्रियस्तरको कास्की फाइनान्सलाई मर्ज गरेपछि राष्ट्रियस्तरको विकास बैंकको रूपमा स्तरोन्नति भएको थियो । पछि विसं २०७४ साउन २० गते १० जिल्लाले विकास बैंकको रूपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको सेवा विकास बैंकलाई गाभेपछि कामना सेवा विकास बैंक बनेको हो ।
पछिल्लो केही वर्षअघिसम्म कमजोर वित्तीय अवस्था रहेको यो बैंकको वित्तीय अवस्थामा अहिले निकै नै सुधार देखिएको छ । यद्यपि बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली भने पटक–पटक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत कामना सेवाका प्रमुख कार्यकारी अधिकृत थकाली कारबाहीमा परेका थिए ।
‘पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेस गरेको प्रतिवेदनमा संस्थाहरूबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरूपयोग भएको वा दुरूपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेस गरेको प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लंघन भएको कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको हो’, राष्ट्र बैंकले भनेको थियो ।
कैफियत भेटिएपछि राष्ट्र बैंकले समय–समयमा कारबाही गरिरहेको छ । तर पनि फेरि एक पटक बैंकले चामत्कारिकरूपमा आफ्नो वित्तीय अवस्थामा सुधार भएको विवरण सार्वजनिक गरेको छ । जुन पत्यारलाग्दो देखिँदैन ।
अधिकृत पुँजी पाँच अर्ब, जारी पुँजी तीन अर्ब ५१ करोड र चुक्ता पुँजी तीन अर्ब ५१ करोड आठ लाख ४६ हजार एक सय ९५ रुपैयाँ रहेको कामनाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड २४ लाख ९३ हजार दुई सय १४ रुपैयाँ खुद नाफा कमाएको छ । जुन आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै सात करोड रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तमा बैंकले २५ करोड ८९ लाख १९ हजार पाँच सय ७८ रुपैयाँ नाफा कमाएको थियो ।
२०८१ पुस मसान्तसम्म ६१ अर्ब पाँच करोड ६९ लाख ७६ हजार पाँच सय सात रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख सात हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालू आर्थिक वर्षको छ महिनामा एक अर्ब आठ करोड ९५ लाख ९४ हजार तीन सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ३५ प्रतिशत निष्क्रिय कर्जा छ । यस्तै, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३७ पैसा छ । बैंकको कुल सम्पत्ति दायित्व ६९ पाँच करोड ६९ लाख ७६ हजार पाँच सय सात रुपैयाँ छ । बैंकमा संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ ।
गत वर्ष आर्थिक वर्षको पुस मसान्तसमम बैंकले ५९ अर्ब छ करोड ६७ लाख ११ हजार सात सय २८ रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख सात हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा बैंकले ९५ करोड ८८ लाख ४० हजार चार सय ८४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निष्क्रिय कर्जा तीन दशमलव ४२ प्रतिशत थियो । यस्तै कुल सम्पत्ति दायित्व ६७ अर्ब १८ करोड ९० लाख २८ हजार रुपैयाँ थियो ।
बैंकको पछिल्लो दुई आर्थिक वर्षको यही विवरणलाई आधार मान्दा गत वर्षभन्दा यस वर्ष बैंकको वित्तीय स्वास्थ्यमा राम्रो सुधार भएको देखिन्छ । बैंकको वित्तीय अवस्था सबल हुनुमा व्यवस्थापन प्र्रमुखको रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीसहितको सिङ्गो टिमको निकै ठूलो हात रहेको बैंकका केही सेयरधनीहरू बताउँछन् । थकाली आउनुअघि बैंकको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत थिए । बस्नेतले आफ्नो कार्यकालमा बैंकलाई निकै कमजोर बनाएका थिए । सोही कारण पनि हुन सक्छ, तत्कालीन प्रमुख कार्यकारी बस्नेत विवाद नै विवादको बीचमा बैंकलाई कमजोर बनाएर बाहिरिएका थिए ।
चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापाले २०७९ माघ १८ गते पक्राउ गरेको थियो । बैंकिङ कसुरसम्बन्धी मुद्दामा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी पक्राउ परेका थिए । धितो मूल्याङ्कनकर्ता र बैंकका कर्मचारी समेत मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋण आफैँले लिएको, कमसल धितो राखेर कर्जा दिएको र कर्जा आफैँ लगेको तथा नक्कली कागजात एवं ऋणी खडा गरेर कर्जा लिएको आधारमा प्रमुख कार्यकारी बस्नेतसहितका चार व्यक्ति पक्राउ परेका थिए । उनीहरूको समूहले ३१ करोड रुपैयाँ ऋण अपचलन गरेको भन्दै राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई पत्राचार गरेपछि दमक प्रहरी कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको र सोही आधारमा उनीहरू पक्राउ परेका थिए । पक्राउ परेको केही दिनपछि प्रमुख कार्यकारी बस्नेतसहित, जोखिम व्यवस्थापन प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणी हरेन्द्र दाहाल र चन्द्रबहादुरसहितका चार जना व्यक्तिहरू हाजीरी जमानामा छुटेका थिए ।
बैंकका पूर्वप्रमुख कार्यकारी बस्नेतले अप्ठ्यारोमा अवस्थामा पुर्याएको बैंकको बागडोर हालका प्रमुख कार्यकारी अधिकृत थकालीले सम्हालेपछि भने क्रमैसँगै सुधार हुँदै आएको छ । ‘आजको दिनमा बैंक वित्तीयरूपमा सबल हुनुको पछाडिको मूल कारण पनि यही नै हो’, सीएसआर प्रमुख सुशिल पौडेलले भने, ‘व्यवस्थापन प्रमुखको रूपमा बैंक सुधारको प्रमुख पात्र प्रमुख कार्यकारी नै हुनुहुन्छ । यसबीचमा बैंकले विगतका गरेको प्रोभिजन रकमलाई राइट व्याक गर्यो, एनबीए अर्थात् गैरबैंकिङ सम्पत्तिलाई पनि सहीरूपमा व्यवस्थापन गर्यो, राष्ट्र बैंकको ऐन, नियम, परिधि र मागदर्शनलाई अक्षरंश पालना गर्यो, यही कारण बैंकको अवस्था क्रमिकरूपमा सबल बनेको हो ।’
‘आजको दिनमा पनि बैंकको समग्र वित्तीय अवस्था र सुधारलाई लिएर मिडियाका धेरै साथीहरूले प्रमुख कार्यकारी अधिकृत थकालीसँग सोही विषयसग केन्द्रित रहेर कुराकानी गर्न चाहानुहुन्छ, तर प्रमुख कार्यकारी थकालीले अहिले आफ्नो प्रमुख दायित्व बैंकको समग्र वित्तीय अवस्थाको सुधार भएकाले सञ्चारकर्मी साथीहरूसँग पछि मात्र कुरा गर्ने भन्नुहुन्छ’, प्रमुख कार्यकारी थकालीको भनाइलाई उदृत गर्दै सीएसआर प्रमुख पौडेलले भने ।