दोलखा । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार जिल्लामा भीमेश्वर नगरपालिका उत्कृष्ट भएको छ । आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार भीमेश्वरले ६२ दशमलव ८ अंक प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।
जिल्लामा दुई वटा नगरपालिका र सात गाउँपालिका रहेका छन् । यस्तै, जिरी नगरपालिकाले ६२ दशमलव ४ अंक प्राप्त गरी दोस्रो भएको छ । गत वर्ष जिरी नगरपालिका ४२ दशमलव आठ अंकसहित जिल्लामै उत्कृष्ट पालिका बनेको थियो । त्यसैगरी बैतेश्वर गाउँपालिका समग्रमा तेस्रो तथा गाउँपालिकातर्फ पहिलो बनेको छ । बैतेश्वरले ५९ दशमलव एक प्रतिशत अंक प्राप्त गरेको छ । गत वर्ष ३३ दशमलव ३६ प्रतिशत अंकसहित तृतीय बनेको बैतेश्वरले यस वर्ष भने आफ्नो अंक प्रतिशतलाई सुधार गर्दै ५९ दशमलव ०१ प्रतिशत पु¥याउन सफल भएको हो । गाउँपालिकातर्फ दोस्रोमा जिल्लाको मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक प्राप्त गरेको छ ।
त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिकाले ५६ दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५ दशमलव २ प्रतिशत अंक पाएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगका अनुसार तामाकोशी गाउँपालिकाले ४८ दशमलव ५, कालिञ्चोक गाउँपालिकाले ४३ दशमलव ६ र बिगु गाउँपालिकाले सबैभन्दा कम ३१ दशमलव ३ प्रतिशत अंक प्राप्त गरेको छ । बिगु जिल्लामै कमजोर कार्यसम्पादन गर्ने गाउँपालिका बनेको छ । विगु गाउँपालिका गत वर्ष पनि २५ दशमलव ९९ प्रतिशत अंकसहित कमजोर देखिएको थियो ।
आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांकनमा यहाँका स्थानिय तहहरूले उलेख्य सुधार गरेको देखिएको छ । गत वर्ष ४० अंक पाउन नसकेका जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकाहरूले सोभन्दा बढी अंक ल्याएका छन् । जिरी नगरपालिकाले भने गत वर्ष ४२ अंक प्राप्त गरेको थियो । यस्तै, बिगु गाउँपालिकाले भने यस वर्ष पनि ४० अंक कटाउन सकेन । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही निर्धारण गरिएका कार्यसम्पादनका १७ वटा सूचकको मूल्याङ्कन गरी अंक प्रदान गर्ने गरेको छ । नतिजा चित्त नबुझेमा जिल्लाका स्थानीयतहले एक साताभित्र प्रमाणसहित निवेदन दिन समेत सक्नेछन् ।