काठमाडौँ । काठमाडौँको एक होटलमा पार्किङ गरिएको अवस्थामा गत माघ ११ गते राति क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको छ । क्षेत्रपाटीस्थित ग१६प १३२५ नम्बरको मोटरसाइकल नक्कली नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले नयाँ बजारमा फेला पारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले सो मोटरसाइकलमा प्रदेश ३–०२–०१२ प ७३७३ नम्बर राखेर चलाउँदै आएको अवस्थामा प्रहरीले धादिङको गङ्गाजमुना गाउँपालिका–९ का २८ वर्षीय सुरज गुरुङलाई नियन्त्रणमा लिइएको जानकारी दिए । काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई मोटरसाइकलसहित नियन्त्रणमा लिइएका गुरुङलाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्ला समय प्रहरीले चोरीका मोटरसाइकलको खोजीलाई तीव्र बनाएको छ । काठमाडौँ प्रहरीले चोरी वा हराएका मोटरसाइकलसम्बन्धी उजुरी दिने र खोजी कार्य गर्न सहज हुने सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।