लमजुङको मर्स्याङ्दी गाउँ पालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मतका लागि विद्युत उत्पादन बन्द भएको छ। आयोजना संरचना मर्मतका लागि शनिबारदेखि विद्युत बन्द गरिएको आयोजनाले जनाएको हो। विद्युत उत्पादन सुरु भएको आठ वर्षपछि विद्युतगृहमा टर्बाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ। २५(२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको सो आयोजनामा टर्बाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ। मर्मतकार्य एक हप्तामा सक्ने आयोजनाले जनाएको छ।
रन अफ रिभर ९पानीको बहावमा आधारित० यो परियोजनाको बाँध क्षेत्रमा पनि मर्मत भइरहेको छ। बाँध स्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीले मर्मतको काम गरिरहेका छन् भने टर्बाइन मर्मतमा चिनियाँ विशेषज्ञसहित इन्जिनियर तथा प्राविधिक खटिएका छन्।
आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत उत्पादन हुदै आएको छ। मर्मत सकिने वित्तीकै विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ। सन् २०१३ को जनवरीमा निर्माण सुरु भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले सन् २०१७ जनवरीबाट व्यावसायिक विद्युत उत्पादन थालेको थियो। चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी छ।