दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग स्थापना गर्न आवश्यक रहेको बताएका छन् । तेस्रो दोलखा महोत्सवको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले दिगो विकास र उद्योग स्थापना गर्न सके मात्र रोजगार सिर्जना गर्न सकिने बताए । सरकारले देशमा लगानीको वातावरण बनाउँदै लगेको उल्लेख गर्दै उनले गाउँ तथा जिल्लामा उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह समेत गरे । बागमती प्रदेश सरकारले निजी क्षेत्रको प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । देशमै केही गर्छु भन्ने युवाहरूलाई बैंक तथा वित्त संस्थाले सहुलियत कर्जा प्रवाह गर्नुपर्ने उनले बताए ।
कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले दोलखा महोत्सवले समग्र जिल्लाको आर्थिक उन्नतिको लागि सकारात्मक सन्देश दिएको बताए । कार्यक्रममा उनले प्रदेश सरकारले दोलखाको विकास र समृद्धिको लागि लगानी गरिरहेको उल्लेख गरे । यस्तै, उनले आगामी वर्षको बजेटमा दोलखाको विकास निर्माणलाई प्राथमिकता दिने बताए ।
कार्यक्रम बागमती प्रदेश सदस्य भरतबहादुर केसी, जिल्लाका नौवटै पालिकाका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतले सम्बोधन गरेका थिए । महोत्सव दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको हो । जिल्लाका उद्यमीहरूबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । साथै, दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने, दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर जिल्लामा बाहिरी पर्यटक भित्र्याउने र दोलखा घुम्ने वातावरण सिर्जना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा कलाकारहरूले दैनिक फरकफरक प्रस्तुति दिनेछन् । महोत्सवमा एक लाख पुरस्कारको दोहोरी आइडल प्रतियोगिता, अन्तर विद्यालयका प्रतियोगिता तथा विकास र पर्यटकीय स्थल तथा पर्यटनसम्बन्धी भिडियो डकुमेन्ट्री प्रदर्शन गरिने संघका महासचिव सुरेश उप्रेतीले बताए । महोत्सवमा स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातिको भेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यावसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्वीर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ । महोत्सव विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय व्यापारी, व्यवसायीहरूका करिब एक सय ५० वटा स्टलहरू राखिएको छ ।