काठमाडौं । कर्णालीमा उत्पादिन स्याउले उचित मूल्य पाउन नसकेको किसानहरूले गुनासो गरेका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली उत्सव (कुडा कर्णालीका) को छैटौं संस्करणको ‘स्याउ सह’ सेसनमा जुम्लाकी किसान नारायणी चौलागाईंले लगानीअनुसार प्रतिफल उठाउन मुस्किल रहेको बताइन् ।
पछिल्ला केही वर्षयता जुम्लाको स्याउले बजार पाएको दाबीका बीच नारायणीले जलवायु परिवर्तन, सडक अवरोध, बजार नीतिका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो सुनाइन् । कार्यक्रममा उनले चालू आवमा जुम्लाबाट मात्रै ६१ करोड ४१ लाख रुपैयाँको स्याउ निर्यात गरेको बताइन् । उनका अनुसार यसमा काँचो र बिचौलियाले निर्यात गरेको तथ्याङ्क समावेश छैन । ५० प्रतिशत जति स्याउ त जुम्लामै कुहिएको उनको दाबी छ । कार्यक्रममा उनले जुम्लालाई स्याउ विशेष क्षेत्र घोषणा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘कर्णालीलाई अर्गानिक घोषणा गरिएको छ, अब स्याउमा प्रयोग गर्नेपर्ने विषादी हामी पाउँछौँ वा पाउँदैनौँ, हाम्रो भविष्य के हुन्छ भन्ने यो घोषणाले अन्योलमा पारेको छ ।’ प्रविधि हस्तान्तरण गर्दा ५० प्रतिशत लगानी कृषकले गर्नुपर्ने भनिएको छ, यसमा साना कृषकहरूले लगानी गर्न नसक्ने बताइन् ।
‘हामीले उत्पादन गरेको स्याउ अहिले देशभित्रै बजारमा बेचेका छौँ, यदि हामीले उद्योग स्थापना गरेर स्याउलाई गुणस्तर बनाएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्यौँ भने अझ धेरै मूल्य पाउन सक्छौँ’, उनले भनिन्, ‘राज्यले उचित नीति र सडक सञ्जाललाई भरपर्दो बनायो भने कर्णालीका स्याउ कृषकले हजारौँ रोजगारी सिर्जना गर्न सक्ने क्षमता राख्दछौँ ।’ कार्यक्रममा वीरेन्द्रनगरका फलफूल व्यवसायी प्रबल शाहीले उत्पादनमा गुणस्तर नहुनु, ग्रेडिङ नहुनु, सडकको गुणस्तरलगायतका कारण किसानले उचित मूल्य पाउन चुनौती रहेको बताए । कृषकले उत्पादन गरेको स्याउलाई विभिन्न शीर्षकमा राखेर बजारीकरणको ग्यारेन्टी गर्न व्यवसायी तयार रहे पनि राज्यबाट सहयोग नभएको उनको गुनासो छ । स्याउबाट बन्ने पेयपदार्थ कम्पनीहरूसँग समन्वय गराएर पूर्णरूपमा उत्पादन खपत गराउन पहल भए पनि सरकारले यसका लागि सुरक्षा ग्यारेन्टी गर्न नसकेको उनले बताए ।
कृषि प्रसार अधिकृत धनबहादुर कठायतले प्रदेश सरकारले प्राङ्गारिक मल, नयाँ प्रविधिमा अनुदानलगायतका कार्यक्रम सञ्चालन गरेको बताए । १० वटा प्राङ्गारिक मलले स्याउको उत्पादन बढेको पाइएकाले किसानलाई अब रासायनिक मलको जरुरी नभएको उनको भनाइ छ । यस्तै, उनले विगतको तुलनामा जुम्लाको स्याउले आफ्नो गुणस्तर कायम गर्न नसकेको उल्लेख गरे । कार्यक्रममा जुम्लाका प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सडकको पहुँचपछि स्याउको बजारीकरण गर्न सहज भएको बताए । उनले जुम्लासँगै स्याउ फल्ने अपर कर्णालीलाई स्याउ जोन बनाउन, प्रदेश सरकारलाई स्याउ बोर्ड गठन गर्न आवाज उठाउँदै आएको जनाए ।