काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारीहरूलाई तालिम प्रदान गरेको छ । बैंकका अनुसार लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगतरूपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायकस्तरका दुई जना गरी जम्मा ९७ जना कर्मचारीहरूलाई चौध दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैंकप्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाइराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए । उनले विभिन्न प्रक्रियापश्चात बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा वरिष्ठ सहायक ९७ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएका थिए । कार्यक्रम मानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सात वटा प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।