काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले दुई करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने भएको छ । महासंघले ‘नेसनल आईसीटी स्कलरसिप– २०८१’ मार्फत प्राविधिक शिक्षाका लागि ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
क्यान महासंघले मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रम विगत सात वषैदेखि सञ्चालनमा रहेको छ । विगतजस्तै यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिइन् । सो छात्रवृत्तिका लागि महासंघले आवेदन समेत खुला गरेको छ ।
देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए । साथै, फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू)को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदन क्यान महासंघको वेबसाइट वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत फागुन २५ गतेसम्म दिन सकिनेछ । आवेदन फारमसँगै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र संलग्न गर्नुपर्नेछ ।
छात्रवृत्तिलाई प्रभावकारीरूपमा सञ्चालन गर्नका लागि क्यान महासंघले निवर्तमान अध्यक्ष रणजीत पोदारको संयोजकत्वमा छात्रवृत्ति छनोट समिति गठन गरेको छ । छात्रवृत्ति संयोजक पोदारले विद्यार्थीहरूलाई व्यावहारिक सीप हासिल गर्न उद्योगसँग सहकार्य गरिएको बताए । इन्टर्नसिप, परियोजना तथा उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरूलाई रोजगारीका लागि तयार पार्ने आफूहरू लागिपरेको उनको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ डा शालिग्राम पराजुलीले यो छात्रवृत्ति कार्यक्रमले ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई अवसर दिने बताए ।