सोयाबिन सनफ्लावर र पाम तेलमा भारतले भन्सार बढाइदिदाँ नेपाली व्यापारीहरु मालामाल भएका छन्। प्रतिलिटरमै राम्रो मुनाफा बस्ने भएपछि नेपाली व्यापारी मालामाल भएका छन्।चालु वर्षको ७ महिनामा ३९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ सोयाबिन, सनफ्लावर र भटमासको तेल भारत निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ७ महिनामा सोयाबिन तेल ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यो १५ करोड ८१ लाख ३८ हजार ४११ किलो बराबरको परिमाण हो।
यसैगरि सनफ्लावर तेल २ करोड ७५ लाख ८९ हजार ३३५ लिटर अर्थात ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको निर्यात भएको छ। यो अवधिमा पाम तेल निर्यात भने घटेको छ। भन्सार विभागले पाम तेल क्रुड नभएर तयारी तेल नै भएको स्पष्ट गरेपछि निर्यात घटेको हो। पाम तेल ३७ करोड ६३ लाख ५६ हजार रुपैयाँको मात्रै निर्यात भएको छ।
भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो। कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालामा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो।