काठमाडौं । फागुन कृष्ण त्रयोदशीको अवसरमा आज विश्वभरका सनातन हिन्दु धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व मनाउँदैछन् । आराध्यदेव भगवान् शिवको ब्रत तथा पूजा आराधना गर्दै महाशिवरात्रि पर्व मनाउने चलन छ । शिवरात्रिको अवसरमा नेपाल, भारतलगायत मुलुकमा रहेका शिवालयहरुमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ ।
शिव पुराणको ईशान संहिताअनुसार महाशिवरात्रि भगवान् शिवको अतिप्रिय रात्रि हो । यही दिन समुद्र मन्थन गर्दा निस्किएको कालकेतु विष आफैँले पिएर शिवले सम्पूर्ण ब्रह्माण्डको रक्षा गरेका थिए भन्ने शास्त्रीय मान्यता छ । शिवरात्रिमा आदिदेव भगवान् शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट हुने गर्छन् भन्ने शास्त्रीय मान्यताको आधारमा यो पर्वलाई महाशिवरात्रिको रूपमा वर्णन गरिएको हो ।
शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो हुने गरेको छ । शिवरात्रिको दिन मात्रै करिब पाँच लाख दर्शनार्थीले दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ । भक्तजनहरू दर्शन गर्ने बेलामा असुविधा नहोस् भन्नका लागि बुधबार बिहानैदेखि पशुपतिका चारवटै ढोकाहरू खुला गरिएको कोषले जनाएको छ ।
शिवरात्रिका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्तहरू पशुपति क्षेत्रमा आएका छन् । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजनले पशुपति दर्शन अनुमान् गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान कोषको छ ।
सदस्यसचिव थापाले गत पुसमा ‘पशुपति दर्शन अभियान’मार्फत भारतमा धार्मिक अभियानकर्मी, राजनीतिक दल, व्यवसायी र सामाजिक अभियानकर्मीसँग प्रत्यक्ष संवाद गरेर फर्किएपछि यस वर्ष महाशिवरात्रिमा दर्शनार्थी बढ्ने आशा गरिएको बताए ।
सुरक्षा सतर्कता अपनाउन प्रहरीको आग्रह
महाशिवरात्रिको अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनहरूलाई सुरक्षा सतर्कता अपनाउन प्रहरीीले आग्रह गरेको छ । पूजा गर्न आउँदा महँगा गरगहना नलगाउन प्रहरीले अनुरोध गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा त्यस्ता महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरे ।
महाशिवरात्रिका अवसरमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र सहायता कक्षसमेत स्थापना भएको जानकारी गराउँदै उनले कुनै समस्या परेमा जानकारी गराउन पनि अनुरोध गरेका छन् । मंगलबार साँझ एक सूचना जारी गर्दै उनले धार्मिक आस्थाका नाममा विभिन्न आपाराधिक तथा अमर्यादित घटना घट्न सक्नेतर्फ सचेत हुन अनुरोध पनि गरेका छन् । विशेष गरी बालबालिका महिला, वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई पशुपति दर्शनमा प्राथमिता दिन उनले अनुरोध गरेका छन् ।
आज सेना दिवस मनाइँदै
महाशिवरात्रिको अवसरमा नेपाली सेनाले आफ्नो स्थापना दिवस पनि मनाउँदैछ । तत्कालीन नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले आधुनिक नेपाली सेनालाई शिवरात्रिकै दिनदेखि व्यवस्थित बनाउन थालेको स्मरणमा विसं २०४७ सालदेखि हरेक शिवरात्रिमा सेना दिवस मनाउने गरिएको छ ।
शिवरात्रिको अवसरमा नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरुको साथमा सैनिक मञ्च टुँडीखेलमा हर्षबढाइँ गर्दै सैनिक दिवस मनाउन लागेको हो ।