काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि लगानी गर्ने वातावरण नहुँदा समस्या भएको बताएका छन् ।
संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको ‘संङ्घीय संरचनामा लगानी प्रवर्द्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयका कार्यक्रममा उनले लगानीको वातावरण बनाउन राज्यले भूमिका खेल्नुपर्ने बताए । ‘नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि सोही अनुरुपको समग्र वातावरण नहँुदा राज्यले प्रतिफल पाउन सकेको छैन’, उनले भने । देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।
‘सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौँ । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन’, उनले भने, ‘देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौँ र हुनुपर्छ ।’ कार्यक्रममा उनले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्धतिमा रुपान्तरित गरी शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरे पनि तीनै तहका सरकारहरु सोहीअनुरुप चल्न नसकेको बताए । अध्यक्ष ढकालले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको उल्लेख गरे ।
लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उनले सरकार वा निजी क्षेत्रबाट प्रवर्द्धित पूर्वाधार एवं विकास परियोजना निर्वाधरूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । यस्तै, उनले तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु औद्योेगिक व्यवसाय ऐनमा एकरूपता नहुनेजस्ता समस्याले गर्दा अपेक्षा अनुरूप लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको बताए ।
अध्यक्ष ढकालले लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नवीकरण एवं राजस्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसायसम्बन्धी आइकन थपी सम्पूर्ण सुविधा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले लगानी प्रवर्द्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरूसँग समन्वयमा सेवा विस्तार गर्नुपर्ने बताए ।