काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्ने गरी व्यवस्थापन गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले बताए ।
‘अहिले एक सिफ्टमा भइरहेको छ’, उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’ यस्तै, उनले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरू थपिएको बताए । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएको उनको भनाइ छ । बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको उनले बताए । वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकोमा क्षमता वृद्धि गरेर ३२ पु¥याइएको छ । ‘अहिले दैनिक भएकोभन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ’, डा गौतमले भने, ‘अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’
अस्पतालको सफाइका लागि काम सुरु
वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताए । ‘हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौं’, उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्त दिएका थिए ।