काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेका देशभरका नेपाल खानेपानी संस्थानका शाखालाई नाफामा ल्याउने दाबी गरेका छन् । नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संस्थानलाई नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने बताए ।
संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्धरूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोेष कसलाई दिने ?’ नाफामा रहेका अन्य शाखाबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ ।
मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । साथै, उनले कर्मचारीको सहयोगका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने बताए । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी सात करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यस योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको मन्त्री यादवले बताए । संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेब शाक्य बज्राचार्यले संस्थानले आफ्नो क्षमताको विकास गर्दै नमुना संस्थानका रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । संस्थानको ३६ औँ स्थापना दिवसको अवसरमा अध्यक्ष गुणाकरण भुसालले आगामी दिनमा नेपाल खानेपानी संस्थानलाई थप विकसित र प्रभावकारी बनाई निरन्तर सेवा प्रदायिक एवं नाफामुखी बनाइने प्रतिद्धता व्यक्त गरे । सो कार्यक्रममा संस्थानका महाप्रबन्धक अर्जनबाबु ढकाल, निमित्त महाप्रबन्धक त्रिदेव श्रेष्ठ लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।