काठमाडौं ।आकर्षक प्रलोभन देखाई विदेश पठाउने नाममा गरिने ठगी रोकिन सकेको छैन । मुलुकमा पर्याप्त रोजगारी नहुँदा विकल्पको रूपमा हेरिएको वैदेशिक रोजगारीमा विभिन्न प्रलोभन पारी ठगी गरिएको पाइन्छ । अमेरिकामा आकर्षक रोजगारीको व्यवस्थापन गरिदिन्छौँ भनी ठगी गरेको आरोपमा गत साता नेपाल प्रहरीले तीन जनालाई पक्राउ ग¥यो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय विरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाउने भन्दै दुई जना पीडितहरूबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरू अमेरिका जान नपाएको र आफूहरू ठगिएको भन्दै प्रहरीका कहाँ उजुरी गरेका थिए । उजुरी गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका–९ बाट तथा मधुकुमार र विरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका–८ बाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि ठगी गर्नका लागि युरोप र अमेरिकालगायतका विकसित मुलुक मात्र नभई मलेसिया, खाडी र अफ्रिकालगायतका मुलुकमा आकर्षक रोजगारी दिलाउने भन्दै ठगी गरेको पाइन्छ ।
प्रवक्ता आचार्यका अनुसार प्रहरीले गत साता अमेरिका मात्र नभई आकर्षक तलब र रोजगारीसहित माल्टा र अल्बानिया पठाइदिन्छु ठगी गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् । पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाले माल्टा पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ६४ हजार रुपैयाँ र रावतले अल्बानिया पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट सात लाख ८२ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहिन थिए, सोसँगै पीडितहरूले प्रहरीको सहयोग लिएको हो । प्रहरीले थापा र रावतलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
विभागमा पनि मासिकरूपमा सयौँ वैदेशिक रोजगारीको ठगीका उजुरीहरू दर्ता हुनेगरेका छन् । विदेश जान पाउने प्रलोभनमा शिक्षितदेखि अशिक्षित, धनीदेखि गरिब सबै वर्गका व्यक्तिहरू परेको विभागका अधिकारीहरू बताउँछन् । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार चालू आर्थिक वर्षको छ महिनामा तीन हजार चार सय पाँचवटा ठगीका उजुरीहरू परेका छन् । जसमध्ये दुई सय ३० वटा फछ्र्यौट गरिएको छ । फछ्र्यौट गरिएको उजुरीमार्फत २४ करोड ६७ लाख ३२ हजार छ सय ६० रुपैयाँ क्षतिपूर्ति भराइएको समेत छ । गत आर्थिक वर्षमा विभाग र प्रहरीमा गरी सात हजार सात सय ६३ वटा उजुरी परेको थियो । जसमध्ये तीन हजार आठ सय ३७ वटा उजुरी फछ्र्यौट गरी ३० करोड ९३ लाख ८९ हजार पाँच सय १२ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । व्यक्तिगत ठगीको हकमा भने मिलापत्र गर्ने तथा मिलापत्र नभएको खण्डमा वैदेशिक रोजगार न्यायधिकरण पठाउने काम गर्ने विभागले गर्छ । संस्थागत उजुरी अर्थात् मेनपावरविरुद्धको उजुरी भने विभाग आफैँले लिने र त्यसको छिनोफानो गर्ने काम गर्छ । विभागको महानिर्देशकको नेतृत्वमा संस्थागत उजुरी फछ्र्यौट गर्ने गरेको पाइन्छ । विभागमामा आएको उजुरी र उजुरी फछ्र्यौटलाई हेर्दा उजुरी फछ्र्यौट निकै न्यून रहेको पाइन्छ । उजुरी फछ्र्यौट नहुनुमा भने उजुरीकर्तासँग ठगीका पर्याप्त प्रमाण नहुन, विभागको ढिलासुस्तीलगायतका कारण मन्न सकिन्छ । विभागले वैदेशिक रोजगारीको नाममा ठगी परेका, अलपत्र परेका, सम्झौताबमोजिक सेवा सुविधा नपाएका श्रमिकको सम्बन्धमा अविभावकीय भूमिका निर्वाह गरेको बताउँदै आए पनि त्यो पर्याप्त नहुँदा समस्या देखिएको हो ।
विदेश जानेको संख्या बढ्दो हुँदा ठगीको संख्या समेत बढ्ने गरेको अधिकारीहरू बताउँछन् । कानुनी अधिवक्ता सुदिप देवाकोटाका अनुसार विभागमा उजुरी लिएर आउनेको संख्या दैनिक हुनेगरेको बताउँछन् । ‘दैनिक विदेश जाने नाममा ठगी भए भन्दै उजुरी लिएर युवाहरू आउने गरेका छन्’, उनले भने, ‘ठगी रकम समेत लाखौँ हुनेगरेका छ जसले गर्दा अवस्था भयावह छ ।’ पछिल्लो सयम मलेसिया र खाडी मुलुक असुरक्षित भएसँगै युरोप पठाउने नाममा ठगी बढेको विभागका अधिकारीहरूको भनाइ छ । वैदेशिक रोजगारीमा ठगी भने व्यक्ति अर्थात् एजेन्ट, समूह, वैदेशिक रोजगारमा संलग्न, संस्था अर्थात् मेनपवारमार्फत हुनेगरेको छ । पछिल्लो समय भने सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने व्यक्ति तथा समूह समेत बढेको छन् ।
जसले गर्दा उजुरी र ठगी रकममा दुवै बढ्न सहयोग पुगेको समेत देखिन्छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा तथा वैदेशिक रोजगारीमा आकर्षक कमाइ सुविधा देखेर जो–कोहीलाई विश्वास गर्दा श्रमिकहरू ठगीमा पर्नेगरेका छन् । जसले गर्दा सरकारले एजेन्ट खारेजी गरे पनि उनीहरूमार्फत नै बढी ठगी भएको भन्दै विभागमा उजुरी परेको छ । पछिल्लो समय युरोप र विकसित मुलुक जापानलगायतका मुलुक पठाउने भन्दै युवाहरूलाई ठगी गर्ने क्रममा वृद्धि भएको छ । मुलुकमा पर्याप्त रोजगारी नहुनु र युरोप र जापानलगायत विकसित मुलुक जान पाउने आशामा युवाहरू ठगिने क्रम बढेको देखिन्छ ।