काठमाडौं । ग्यास उद्योगीहरू फेरि आन्दोलनमा उत्रिएका छन् । ग्यास उद्योगीहरूले आन्दोलनस्वरूप आइतबारदेखि प्रोडेक्ट डेलिभरी अर्डर (पीडीओ) लिन बन्द गरेको उद्योगीहरूको छाता संगठन एलपीजी ग्यास उद्योग संघले जनाएको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आइतबारबाट मुलुकभरका ग्यास उद्योगीले नेपाल आयल निगमबाट पीडीओ नलिएका हुन् । ‘देशभर ५९ वटा ग्यास उद्योगले निगमबाट पीडीओ नलिने निर्णय गरेका छन् सोहीअनुरूप उनीहरू अघि बढेका हुन्’, उनले भने ।
अध्यक्ष घिमिरले ग्यास उद्योगीहरूको माग पूरा गर्नका लागि सरकार तयार नभएको भन्दै सो कदम चाल्न परेको बताए । हामीले कमिसन रकम बढाउनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेका थियौँं तर मन्त्रालयले त्यसलाई बेवास्ता गरेको उनको भनाइ छ । यसअघि गत माघ अन्तिम साता उद्योगीहरू सरकारले माग पूरा नगरेको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । सो समयमा निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीहरूको उपस्थितिमा उद्योगीहरूको माग सम्बोधन गरिने भन्दै उद्योगमन्त्री दामोदर भण्डारीले आश्वासन दिएसँगै उद्योगीहरू सहमत भएका थिए । मन्त्री भण्डारीसँगको सहमतिसँगै १५ दिनका लागि उद्योगीहरूले आन्दोलन स्थगित गरेका थिए ।
आफ्नो माग पूरा नभएको भन्दै पुनः उद्योगीहरूले आन्दोलनमा उत्रिने तयारी गरेका हुन् । संघले माग पूरा नगरेको खण्डमा फागुन २४ गतेदेखि इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट नेपालका लागि एलपी ग्यासको बुलेट ल्याउन छाड्ने र चैत १ गतेदेखि भन्सारबाट ग्यास बुलेट छुटाउन रोक्ने चेतावनी दिएको छ । उद्योगीहरूले ग्यास बुलेट ल्याउन छाडेमा बजारमा ग्यास अभाव देखिने निश्चित रहेको छ ।
सरकारले समयमा समस्याको समाधान नगरे बजारमा ग्यास अभाव देखिएर मूल्य बढ्ने जोखिम रहेको छ । संघले माघ २४ गते १९ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका थिए । संघले उद्योगी र डिलरहरूको मुनाफा प्रतिशतमा कायम गरी ५५ नघट्ने व्यवस्था हुनुपर्ने, ग्यासको कोटा सिलिन्डर खरिद र रुजु (भेरिफाइड) गरेअनुसार हरेक वर्ष गर्दै जाने, एलपी ग्यासको सिलिन्डरबाट हुने दुर्घटनाहरूमा निर्माता (उद्योग), उद्योगी, बिक्रेता, उपभोक्ताहरूको दायित्वबारे छुट्टाछुट्टै कानुनी व्यवस्था हुनुपर्ने र जग्गाको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका थिए । सो कुरा थाहा पाएसँगै मन्त्री भण्डारीले उद्योगीहरूलाई वार्तामा बोलाएर आन्दोलन रोक्न सफल भएका थिए । वार्षिकरूपमा अर्बौँ रुपैयाँबराबरको ग्यास नेपाली बजारमा उपभोग हुनेगरेको छ । संघले आन्दोलन गरेको खण्डमा भने सर्वसाधारणहरू प्रभावित हुने निश्चित रहेको देखिन्छ ।
गत आर्थिक वर्षमा मात्र १० अर्ब ३७ करोड ४९ लाखबराबरको एलपीजी ग्यास आयात गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त मूल्यबराबरको ५२ करोड ४२ लाख चार हजार किलोग्राम एलपीजी ग्यास आयात गरिएको हो । विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्र छ अर्ब ६१ करोड ६५ लाखबराबरको ३१ करोड ४३ लाख ४१ हजार किलोग्राम एलपीजी ग्यास आयात गरिएको हो ।