ढोरपाटन (बागलुङ) । आधुनिक प्रविधिसँग जोड्न बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
नगरपालिकाले किसानको माग र आवश्यकलाई मध्यनजर गरी हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए । विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले किसान र नगरपालिकाको गरी कूल नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको बताए । प्रतिहाते ट्याक्टरको मूल्य ५२ हजार परेकोमा किसानले २६ हजार तिरेका थिए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए । पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।