काठमाडौं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरूलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरूलाई क्रिटिकल केयरसम्बन्धी विषयमा दुई दिने तालिम सञ्चालन गरेको हो ।
नर्सेस एसोसिएसन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचारसम्बन्धी तालिम दिइएको छ । क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालअन्तर्गत एनसीसी डेभलपमेन्ट फाउन्डेसनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउन्डेसनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठलगायतले विषयगत तालिम दिएका थिए । क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने बिरामीहरूको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्राडा नीलमणि उपाध्यायले नर्सहरू बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताए ।
कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरूको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताइन् । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै उनले क्रिटिकल केयरको तालिमले नर्सहरूलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको उल्लेख गरिन् ।