डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा बुधबारदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन् ।
उनले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन् । उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार दीर्घकालीन समृद्धितर्फ लागिसकेको बताए । सुस्ताएको व्यापारलाई चलायमान बनाउन व्यापारिक मेला, महोत्सवले मुलुकलाई समृद्ध बनाउन टेवा पुग्ने मन्त्री खड्काले बताए ।
“ऊर्जा र जलस्रोतको माध्यमबाट मात्रै देशलाई दीर्घकालीन समृद्ध बनाउन सम्भव छ”, उनले भने, “समृद्धिको यात्राका लागि भरपर्दो र विश्वासिलो सरकार आवश्यकता थियो, अस्थिर सरकारका कारण व्यापारिक गतिविधि नै अलमलमा थियो, दुई ठूला राजनीतिक दलको समन्वयले देशलाई समृद्ध बनाउने छौँ ।”
स्थानीय पर्यटकीय तथा व्यापारिक क्षेत्रको प्रचारप्रचार र प्रवर्द्धनका लागि यस्ता मेला, महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले सुस्ताएको व्यापारलाई चलायमान बनाउन यस्ता मेला, महोत्सवले सहयोग पुगेको बताएका छन् ।