पेरिस, साउन ११
फ्रान्समा कोरोनाभाइरसको दृष्टिले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परीक्षण विना प्रवेश गर्न कडाइ गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिएका हुन् ।
सिन्ह्वाका अनुसार सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीतिअन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो ।
फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टिकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन् । ‘ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ’, उनले भने ।
सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि उनले जानकारी दिए । फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५ सय २८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक दिनअगाडि एक हजार ६२ मात्रै रहेको थियो । कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १९२ जनाको मृत्यु भएको छ । ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।