काठमाडौं । राजावादी र हिन्दुवादीहरुले काठमाडौंको सडकमा केही हजार मानिस उतारेर संघीय गणतान्त्रिक व्यवस्था उल्ट्याउने सपना देखाएका छन् । केही समय पोखरा बसेर आइतबार दिउँसो काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पूर्वपञ्चहरुको समूह राप्रपालगायतका विभिन्न राजनीतिक दल र केही हिन्दु धर्मगुरु तथा दुर्गा प्रसाईँको समूह राजधानीको तीनकुनेदेखि महाराजगञ्ज चक्रपथसम्मको विभिन्न भागमा जम्मा भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजावादीहरुको समूह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटमा पुगेका थिए । उक्त समूहले आफ्नो सबै शक्ति विमानस्थलको बाहिरको गेटदेखि गौशलासम्म केन्द्रित गरेका थिए । सुरक्षा निकायले सबैतिर गरेर १२ देखि १५ हजार मानिस सडकमा उत्रिएको अनुमान गरेको छ ।
फागुन ७ गतेको प्रजातन्त्र दिवसको दिन पोखराबाट संघीय गणतन्त्रविरुद्ध भिडियो सन्देश दिएका पूर्वराजा ज्ञानेन्द्रले आफूलाई स्वागत गर्न रिङरोड क्षेत्रमा बसेका समर्थकहरुलाई नमस्कार गर्दै गाडीबाट अगाडि बढेका थिए । साढे दुई सय वर्षको राजतन्त्र पक्षधरहरुले गणतन्त्रको वाक र भेला हुने स्वतन्त्रता उपयोग गरेर जति मानिस काठमाडौंमा जम्मा पारे त्यसले तत्काल गणतान्त्रिक व्यवस्था ढल्ने अवस्था भने छैन ।
गणतान्त्रिक व्यवस्थामा नेताहरुको व्यवहारप्रति जनतामा असन्तुष्टि बढे पनि गणतान्त्रिक व्यवस्थाको ठाउँमा जहानीय राजतन्त्र स्थापनाको लागि जनमत बढ्छ भन्ने अवस्था छैन । किनकि नेपालको राजतन्त्रको स्थापनादेखि पतनसम्म आन्तरिक जालझेल, मारकाट, छलकपट, षड्यन्त्रको प्रशस्त घटना छन् । निर्वाचनबाट राजतन्त्र पक्षधर स्थापित हुने सम्भावना अहिलेसम्म देखिएको छैन । किनकि केही महिनाअघि भएको स्थानीय तहको उपनिर्वाचनमा पनि राजावादीहरुले उम्मेदवार उठाए पनि एउटा पद पनि जित्न सकेनन् । अहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका केही नेताहरु अन्य राजनीतिक दलको समर्थनमा निर्वाचित भएर आएका हुन् ।