दोलखा । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा दोलखाबाट सहभागी हुने विद्यार्थीको संख्या सामान्य वृद्धि भएको छ । जिल्लामा यस वर्ष दुई हजार ८६१ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्ष दोलखाबाट दुई हजार छ सय ३० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । गत वर्षको तुलना यस वर्ष दुई सय ३१ जना विद्यार्थी बढेका छन् । दोलखाका ८७ वटा सामुदायिक विद्यालयका दुई हजार पाँच सय ५० जना, ११ वटा संस्थागत विद्यालयका दुई सय ७७ जना र एक खुला विद्यालयका ३४ जनागरी ९९ सय वटा विद्यालयका दुई हजार ८६१ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको शिक्षा तथा समन्वय इकाई दोलखाकी निमित्त प्रमुख कविता बस्नेतले बताइन् ।
आउदो चैत ७ गतेदेखि सञ्चालन हुने सो परीक्षाको कार्यलयले परीक्षा केन्द्र समेत तोकेको छ । जिल्लामा यसवर्ष १७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । कार्यलयले जिरी माध्यमिक विद्यालय जिरी, हनुमन्तेश्वर माध्यमिक विद्यालय मैनापोखरी, वैतेश्वर माध्यमिक विद्यालय नाम्दु, गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी मालु, सितापाइला माध्यमिक विद्यालय जफे, त्रिभुवन माध्यमिक विद्यालय मेलुङ, दुर्गा माध्यमिक विद्यालय मागापौवा, देवी माध्यमिक विद्यालय बोच, कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी, कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट परीक्षा केन्द्र तोकेको छ ।
त्यसैगरी पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय चरिकोट, बुढाभीमसेन माध्यमिक विद्यालय धरमघर, भीम माध्यमिक विद्यालय दोलखा, कालिनाग माध्यमिक विद्यालय सुनखानी, कालिनाग माध्यमिक विद्यालय सिंगटी, गौरीशंकर माध्यमिक विद्यालय लामाबगर र हलेश्वर माध्यमिक विद्यालय गौरीशंकर सुरि गरी १७ वटा एसईई परीक्षा केन्द्र रहेकोे कार्यालयले जनाएको छ । त्यसैगरी गत वर्षको ग्रेडवृद्धि परीक्षाको केन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट रहेकोे छ । कार्यालयले परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।